आदिमा परमेश्वरले, भाग १
उत्पत्ति १ अध्यायमा सृष्टिको विवरण दिइएको छ। धेरै मानिसहरू यो विवरणलाई आधुनिक वैज्ञानिक खोजको आधारमा अर्थ्याउन खोज्छन्। उनीहरू एक्काइसौँ शताब्दीका वैज्ञानिक प्रश्नहरू लिएर आउँछन् र बाइबलबाट तिनको उत्तर खोज्छन्। यसो गर्नु भनेको बाइबल कस्तो खालको पुस्तक हो र विशेषगरी उत्पत्तिको पुस्तकमा भएको सृष्टिको विवरण कस्तो किसिमको लेखाइ हो भनि नबुझ्नु हो। हामीले बुझ्नुपर्ने एउटा आधारभूत तथ्य के हो भने उत्पत्तिको पुस्तकमा भएको सृष्टिको विवरण वैज्ञानिक विवरण होइन र यो वैज्ञानिक यूगको लेखाइ पनि होइन। त्यसबेलाका मानिसहरूले वैज्ञानिक प्रश्न गर्दैनथे। त्यसैले वैज्ञानिक प्रश्नहरू लिएर बाइबलमा आउनु गलत हो।
उत्पत्तिको पुस्तकमा भएको सृष्टिको विवरण एउटा कलात्मक ढंगले लेखिएको सृजना हो (a literary art) जसद्वारा लेखकले केहि आधारभूत तथ्यहरू बताउन खोजेका छन्। ती आधारभूत तथ्यहरू के हुन् भन्ने विषयमा हामी एकछिन पछि कुरा गरौंला। अहिलेलाई भने यो कलात्मक सृजना सम्बन्धि केहि छलफल गरौँ। पहिलो कुरा त एकै किसिमको ढाँचा (literary pattern) मा छ दिनको विवरण लेखिएको छ: परमेश्वरले भन्नुभयो, त्यस्तै भयो, (परमेश्वरले अलग-अलग गर्नुभयो), परमेश्वरले हेर्नुभयो र त्यो असल थियो, साँझ पर्यो र बिहान भयो, ~औं दिन। यसका साथै छ दिनको विवरण यसरी मिलाइएको छ कि अघिल्लो तीन दिनको प्रत्यक्ष सम्बन्ध पछिल्लो तीन दिनसँग छ। अर्थात्, अघिल्लो तीन दिनमा परमेश्वरले निवासस्थानहरू बनाउनुभयो र पछिल्लो तीन दिनमा उहाँले त्यहाँ बस्ने निवासीहरू बनाउनुभयो।
| निवासस्थान | निवासी |
|---|---|
| दिन १: उज्यालो (दिन) र अँध्यारो (रात) | दिन ४: घाम, जून र तारा |
| दिन २: आकाश र पानी (माथिको र मुनिको) | दिन ५: चराचुरुंगी र जलप्राणी |
| दिन ३: जमिन/भूमि र वनस्पति | दिन ६: पशु र मानवजाति |
यहाँ स्पष्ट छ कि दिन १ र ४, दिन २ र ५, अनि दिन ३ र ६ को बीचमा प्रतक्ष्य सम्बन्ध छ—अघिल्लो तीन दिनमा निवासस्थानहरू र पछिल्लो तीन दिनमा त्यहाँ बस्ने निवासीहरू। यो कुरा पद १६क बाट पनि स्पष्ट हुन्छ: “अनि परमेश्वरले दुइ विशाल ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति [घाम] दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति [जून] रातमाथि प्रभुत्व गर्न ।” सोही अनुरुप दिन २ र ३ मा निर्दिष्ट निवासस्थानहरू र दिन ५ र ६ मा सम्बन्धित निवासीहरू।
यहाँ मूख्य कुरा के हो भने यो वैज्ञानिक विवरण होइन। यसका साथै छ दिनले सृष्टिको घटनाक्रमलाई क्रमबद्ध रूपमा (chronologically) बताउन खोजेको पनि होइन। ध्यान दिएर हेर्ने हो भने हामी देख्छौँ कि घाम-जूनको सृष्टि चौथो दिनमा दिइएको छ । अब वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने पहिलो, दोस्रो, र तेस्रो दिन चाहिँ कसरी भयो त? यसले पनि प्रस्ट्याउँछ कि यो सृष्टिको विवरण न ता वैज्ञानिक विवरण हो न ता यसले सृष्टिको घटनाक्रमलाई क्रमबद्ध रूपमा बताउन खोजेको छ। तसर्थ, वैज्ञानिक प्रश्नहरू ल्याएर बाइबल र विज्ञानको बीचमा द्वन्द्व छ भन्नु वा बाइबलको विवरणलाई वैज्ञानिक खोजको आधारमा जबर्दस्त अर्थ्याउन खोज्नु दुवै गलत हुन्।
त्यसो हो भने यो विवरणको उद्देश्य के हो त? यो विवरणले पाठकलाई के बताउन खोजिरहेको छ त? यी तीन प्रमुख कुराहरू:
यी तीन कुराहरू हामीले उत्पत्ति १ अध्यायको विवरणबाट बुझ्नुपर्छ।
अब कुरा गरौँ परमेश्वरको स्वरूपमा मानवजाति सृष्टि भएको विषयमा। परमेश्वरको स्वरूपमा सृष्टि हुनु भनेको के हो भन्ने विषयमा प्रशस्त छलफल भएका छन्। लेखाइको सन्दर्भले (पद २६-२८) यो बताउँछ कि परमेश्वरको स्वरूपमा सृजिनुको एउटा महत्त्वपूर्ण पाटो (implication) हो मानवजातिले सृष्टिमाथि अधिकार वा प्रभुत्व गर्नु। (यसको दोस्रो पाटो हामी यो लेखको दोस्रो भागमा हेर्नेछौं।) यसको मतलब के हो त? यही हो कि परमेश्वरले बनाउनुभएको अति सुन्दर (पद ३१) सृष्टिको हामीले संरक्षण-संबर्धन गर्नुपर्छ। यो क्षमाता परमेश्वरले मानवजातिलाई दिनुभएको छ। परमेश्वरले सृष्टि गर्नुभएको अरू कुनै वस्तु वा प्राणीले यो कार्य गर्न सक्दैन।
अधिकार गर्ने, प्रभुत्व गर्ने, वा वशमा पार्ने कुरालाई मनिसजातिले गलत बुझ्यो। पतनको कारण मानिस स्वार्थी छ र उसले आफ्नो अधिकारलाई दुरुपयोग गरेको छ। जसरी आज हर क्षेत्रमा अधिकार पाएकाहरूले आफ्नो अधिनमा हुनेहरू माथि अन्याय-अत्याचार, शोषण-दमन, थिचोमिचो गरेका छन्, त्यसरी नै सृष्टिमाथि पनि मानवजातिले आफ्नो अधिकारको गलत फाइदा उठाएको छ (abuse गरेको छ)। हामीले बुझ्नुपर्छ कि अधिकारसँग जिम्मेवारी आउँछ र यो अति सुन्दर सृष्टिको स्याहारसंभार गर्ने जिम्मेवारी परमेश्वरले हामी मानवलाई दिनुभएको छ। यो अति नै महत्त्वपूर्ण जिम्मेवारी हो। जहाँ पनि मानव वस्ती छ त्यहाँ सृष्टि बिटुलिएको छ। मानव वस्ती नभएका ठाउँहरूमा तपाईं जानुभएको होला; त्यहाँ हावा स्वच्छ हुन्छ, खोलानाला कन्चन हुन्छन्, जथाभावी फोहोर मैला हुँदैनन्, होइन त ? तर मानव वस्ती भएका ठाउँमा प्रायजसो ठीक उल्टो हुन्छ। हाम्रो देशको राजधानी काठमाडौं यसको एउटा उदाहरण हो। विज्ञानप्रविधिको विकास र औद्योगिकरणसँगै हाम्रो सुखसुविस्ता त बढेको छ तर हामीले सृष्टिलाई भने नष्ट गर्दै गएका छौं। रोमी ८:१९-२३ ले बताउँछ कि सृष्टिले प्रसववेदनाको आर्तनाद गरिरहेछ। यो पहिले त पतनको र तत्पश्चात पनि मानवजातिले सृष्टिमाथि गरेको अत्याचारको परिणाम हो।
परमेश्वरले नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ अहिले भएका विकृति हुनेछैनन् (यशैया ६५:१७; ६६:२२; २ पत्रुस ३:१३; प्रकाश २१:१) तर सो समय नआउन्जेल सृष्टिको संरक्षण गर्नु हरेक मानवको कर्तव्य हो—विशेषगरी सृष्टिकर्ता परमेश्वरलाई पुज्ने ख्रीष्टियानहरूको। यदि हामीले संरक्षण गरेनौं र यसरी नै सृष्टिमाथि अत्याचार गर्दै गयौं भने अन्ततः यस्तो समय आउनेछ जब पृथ्वीले जीवन (मानव, पशुप्राणी, र बोटबिरुवा) धान्न सक्नेछैन। मानवजातिले सृष्टिमाथि गरेको अत्याचारको जलवायु परिवर्तन (global warming) जस्तो नकारात्मक प्रतिफल आज हामी भोग्दैछौं।
त्यसो भए हामी के गर्न सक्छौँ त? ढुंगे युगमा फर्केर जाने त कुरा आएन तर आफ्नो तर्फबाट सम्भव हुने केहि प्रयास भने हामी अवश्य गर्न सक्छौँ। ठूला-ठूला संरक्षणका क्रियाकलापहरू गर्न सक्ने स्थानमा हामी छैनौँ होला तर आफ्नो दैनिक जीवनमा सानासाना प्रयास भने अवश्य गर्न सक्छौँ। जस्तै: